लिपुलेक हाम्रो हो कालापानीबाट भारत फिर्ता हुनु पर्छ : कांग्रेस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति नेपाली काँग्रेसको ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै एकपक्षीय रुपमा नेपाली भूमिमा सडक निर्माणलगायतका भारतीय पक्षको गतिविधि आपत्तिजनक रहेको बताएका छन् । 

यस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी भएको र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको गगन र विश्वप्रकाशले स्पष्ट गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ ‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ’

विज्ञप्तिमा कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने पनि माग गरिएको छ ।  दुई राष्ट्र बीचको सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्ने स्पष्ट गर्दै विश्व र गगनले भनेका छन्, ‘१८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्विकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।’