नारायणहिटीमा सेटिङ नभएको बतासको दावी

पुस २७, काठमाडौं । बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्का कुनै सेटिङको आधारमा नपाएको दावी गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको ठेक्का कुनै प्रभाव र दबावमा पाएको होइन भन्ने कुरा सम्झौाको भाषाले नै स्पष्ट हुने बताए ।

जम्मा तीन वर्षका लागि अत्यन्तै कडा शर्तहरुसहित क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ तीन करोडभन्दा बढी लगानी गरिसकेको उनले उल्लेख गरेका छन् । तर आफूहरुले बनाएको संरचना गैरकानुनी ढंगले नष्ट गर्ने काम भएको भन्दै उनले भनेका छन्, ‘हामी माथि राज्यले गरेको अन्याय र अपराधबारे समेत आम जनमानसलाई जानकारी गरिदिनुहुन यहाँहरुलाई अनुरोध गर्न चाहान्छौं ।

गोरखापत्र दैनिकमा प्रकाशित सूचनाको आधारमा मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बीपीएस लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच २०७७ पुस १७ गते सम्झौता गरेको बतासले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

बतासले नारायणहिटी संग्रहालय सम्बन्धमा बनेको छानबिन समितिले आफूहरुसँग सोधखोज नै नगरी एकतर्फी रुपमा पूर्वाग्रही भएर प्रतिवेदन दिएको समेत बताएका छन् ।