नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हुनसक्ने विश्व बैंकको प्रक्षेपण

पुस २८ , काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ ।सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ ।

यो वर्ष सार्क मुलुकमध्ये पहिलो स्थानमा माल्दिभ्स रहेको छ जस्ले ११ प्रतिसतको आर्थिक वृद्धि हासिल गर्ने छ । त्यस्तै दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८.३ प्रतिशतको वृद्धिदर भेटाउने छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेका माल्दिम्भ र भुटानले राम्रो लय समात्दा नेपाल भने सोचेजस्तो आर्थिक वृद्धि हासिल गर्न सकेको छैन । यसको असर अर्थतन्त्रमा देखिएको छ । भुटानले ५.१ प्रतिशतको वृद्धिदर भेटाउने देखिएको छ ।

विश्व बैंकले यो सूचीमा अफगानिस्तानलाई राखेको छैन । तीव्र राजनीतिक अस्थिरताका बीच यो मुलुकको प्रक्षेपण हुन नसकेको बताइएको छ । नेपालले आगामी वर्ष भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ ।

यस्तो छ सार्क मुलुकहरुको आर्थिक वृद्धि

  • माल्दिभ्स : ११ प्रतिशत
  • भारत : ८.३ प्रतिशत
  • बंगलादेश : ६.४ प्रतिशत
  • भुटान : ५.१ प्रतिशत
  • नेपाल : ३.९ प्रतिशत
  • पाकिस्तान : ३.४ प्रतिशत
  • श्रीलंका : २.१ प्रतिशत

अफगानिस्तानमा अगस्टमा तालिवान शासन आएपछि अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्न नसक्दा अन्तराष्ट्रिय वित्त प्रणाली र विदेशी सम्पत्तिमा समेत क्षति पुगेकाले सो मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेको विश्व बैंकले जनाएको छ ।समग्रमा दक्षिण एसियाली भेगले ७.६ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने देखिएको छ ।