उपत्यकामा आजबाट ‘स्मार्ट लकडाउन’

पुस २७, काठमाडौँ । आजबाट काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ सुरु भएको छ ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसमा काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ गरिएको हो।काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि आदेश जारी गरेका छन्।

प्रशासनले सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा माघ ७ गते देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्नुपर्ने र खोप कार्ड हेरेर मात्र प्रवेश दिने निर्णय गरेको छ। माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने निर्णय भएको छ।

सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने बताइएको छ।