तीन जिल्लाका प्रजिअ भन्छन भिडभाड हुने क्षेत्र नियन्त्रण गर्नैपर्छ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पुनः कोरोना संक्रमण बढ्दा भिडभाड हुने क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था लागु गर्ने तयारी गरेको छ ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले सीसीएमसीसीको निर्देशनपछि संक्रमण रोकथाम गर्ने कदम चाल्ने बताएका छन् ।

गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सीसीएमसीसी बैठकले रोकथामका लागि तत्काल कदम चाल्न निर्देशन दिइसकेको छ । सीसीएमसीको उक्त निर्देशन आएपछि आज बेलुका वा भोलि आफुहरुको बैठक बस्ने प्रजिअ रिजालले जानकारी दिए । बढी भिडभाड हुने क्षेत्रमा भिडभाड कम गर्ने प्रावधान ल्याइने उनको भनाइ छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गर्दै आएको छ ।यसअघि, काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले एकसाथ उपत्यकामा निषेधाज्ञा, लकडाउनको कदम चाल्दै आएका थिए । पुनः संक्रमण बढे त्यस्तै अवस्था आउन सक्ने प्रजिअहरूको भनाइ छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा भन्छिन ‘कोरोना संक्रमण बढ्दै जाँदा ढिलोचाँडो बढी भिडभाड हुने क्षेत्र नियन्त्रण गर्नैपर्ने हुन्छ । भिडभाडबाटै बढी संक्रमणदर बढेको अनुभव हामी सबैमा छ । यद्यपि, सम्बन्धित सरोकारवाला निकायसँगको छलफलपछि मात्रै लकडाउन जारी गर्ने/नगर्नेबारे निष्कर्षमा पुग्छौँ,” ।

प्रजिअ शर्माका अनुसार आज वा भोलि बस्ने प्रजिअहरूको बैठकमा भिडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, सार्वजनिक यातायातलगायत क्षेत्रको भिडभाड कम गर्ने प्रावधानमा छलफल हुनेछ । भक्तपुरको संक्रमणबारे सरोकारवाला निकायसँग छलफल भइरहेको पनि प्रजिअ शर्माले जानकारी दिइन् ।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा सावधानी अपनाउने कामहरू भइरहेको जानकारी दिए । उनले विभिन्न सरोकारवाला निकायसँगको छलफल र बढ्दो संक्रमणदरको समीक्षाले आवश्यक निर्णयको बाटो देखाउने बताए ।