देउवासँग कुराकानी राम्रो भएको ‌ओलीको प्रतिक्रिया

एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ।

एक घण्टा भन्दा लामो भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई बिदाइ गर्न निस्केका अध्यक्ष ओलीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताए।

एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निष्काशन गरेका सांसदहरूलाई सांसद पद नरहेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ। 

प्रधानमन्त्रीले वोलाएको सर्वदलीय बैठक समेत एमालेले बहिस्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार बसेको बैठकले ओलीलाई मनाउने जिम्मा कांग्रेस सभपति समेत रहेका देउवालाई दिएको थियो।

एमालेले आफ्नो पार्टीको संसदीय दलले निष्काशन गरेका माधव नेपालसहितका १४ जना संसदमा आएसम्म संसद अवरोधलाई निरन्तरता दिने अडान राख्दै आएको छ। प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवाद नै टुटेको अवस्थामा प्रधानमन्त्री देउवा ओलीलाई भेटन शुक्रबार बालकोटमा रहेको केपि निवास पुगेका हुन्।