मन्त्री आलेले दिए त्रिभुवन विमानस्थलको आवागमन कक्ष विस्तार गर्न निर्देशन

पुस २४ काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । 

भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन् ।  विमानस्थलमा एकमात्र ‘कन्भेयर बेल्ट’ भएको र थप दुईवटा नयाँ किनेर अब तीन वटा सञ्चालन गर्न समेत भनिएको छ । विमानस्थलका कर्मचारीले स्थान पहिचान, बजेट व्यवस्थापन, सूचना प्रकाशनका विषयमा तत्काल काम अगाडि बढाउने जनाइएको छ ।