बतासमा कुनै संलग्नता नरहेको आरजुको दावी

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले विवादित बतास समूहमा आफ्नो आवद्धता नरहेको बताएकी छन् । उनले बिहीबार विज्ञप्ति जारी गरी आफू आवद्ध संस्थाको नाम सार्वजनिक गर्दै बतासमा आफ्नो संलग्नता नरहेको बताएकी हुन् ।

नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको र पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको बतास समूहको सल्लाहकारमा प्रधानमन्त्री पत्नी देउवा रहेको सार्वजनिक भएपछि उनले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेकी हुन् ।

आरजुले आफू ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष र सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक तथा अध्यक्ष, नामीको अध्यक्ष रहेको उल्लेख गरेकी छन् । उनले यूलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र रक्तदाता संघको संरक्षकबाहेक कुनै पनि संस्थाहरुमा सल्लाहकार वा अन्य कुनै पदमा संलग्नता नरहेको आरजुले दावी गरेकी छन् ।