गुणले थप्यो उडान गन्तव्य, आजदेखि काठमाडौं-सुर्खेत पनि, उडान गन्तव्य नौ पुर्‍यायो

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले उडान गन्तव्य विस्तार गर्दै नौ पुर्‍याएको छ। यस क्रममा आइतबारदेखि काठमाडौं-सुर्खेत नियमित उडान सुरु गर्ने भएको हो।   

आठ ठाउँ नियमित उडान गरिरहेको गुणको सुर्खेत नवौं ‍गन्तव्य हो। गत असोजबाट आफ्नो सेवा पुनः सुरु गरेको कम्पनीले भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगन्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान गरिरहेको छ।

यात्रुलाई सुरक्षित र भरपर्दो हवाई सेवा दिनु मुख्य उद्देश्य रहेको कम्पनीका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए। ‘हामी सुरक्षाको प्रत्याभूतिसहितको सेवा दिइरहेका छौं,’ उनले भने, ‘यात्रुको चापको अवस्था र हाम्रो जहाजको अनुकूलताअनुसार गन्तव्य थप्दै लगेका हौं।’

कम्पनीले पाँचवटा जेटस्ट्रिम र दुई विचक्राफ्ट जहाजमार्फत उडान गरिरहेको छ। नौवटा गन्तव्यमा व्यवसायिक उडानको योजना बनाएको कम्पनीले प्रादेशिक उडानका लागि पनि गृहकार्य गरिरहेको उनले बताए।