संविधान जोगाउन गठबन्धन सरकार बनेको हो : नेता सिंह

काठमाडाै भदाै ३० नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान जोगाउन गठबन्धन सरकार बनेको बताए ।

काठमाडौँमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले तत्कालीन (नेकपा) सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरी दुई पटकसम्म संसद् भङ्ग गरेकाले संविधान जोगाउनका लागि गठबन्धनको सरकार बनेको हो । “गठबन्धनको सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको छ, आगामी निर्वाचनमा देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने पार्टीलाई विजयी गराउनुपर्छ”, नेता सिंहले भने । तत्कालीन (नेकपा)को सरकारले सङ्घीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको उनकोभनाइ थियो ।

बागमती नदी किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको चर्चा गर्दै नेता सिंहले काठमाडौँ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा सरोकारवाला निकायका पदाधिकारीले खानेपानीसम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए ।

उनीहरू ढल र फोहरको व्यवस्थापन राम्रोसँग हुन नसकेकामा आक्रोशित भएका थिए ।