वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनबीच सहमति

माघ ४, काठमाडौँ । सत्तारुढ गठबन्धनका दलहरु आउँदो वैशाखमा स्थानीय तह निर्वाचन गर्न सहमत भएका छन् ।

स्थानीय तह निर्वाचनलाई लिएर गठबन्धनभित्र मतभिन्नता बढेको चर्चा भइरहेका बेला नेताहरुले वैशाखमा निर्वाचन गर्न सहमत भएको बताएका हुन् ।

आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा यस्तो सहमति जुटेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनले समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने कुरामा गठबन्धनका दलहरु एकमत रहको र आजको बैठक पनि राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको विजय सुनिश्चित गर्ने र समयमा नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा नै केन्द्रित रहेको बताए । यस विषयमा थप छलफल गर्न बिहीबार फेरि गठबन्धनको बैठक बस्ने जानकारी दिए ।

‘निर्वाचन समयमा नै सम्पन्न हुन्छ । संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा दलहरु सहमत छन्,’ कार्कीले भने, ‘निर्वाचन आयोगसँग परामर्श भइरहेको छ । फेरि परामर्श गरेर संविधानले तोकेकै समयमा चुनाव गरेर संघीयतालाई मजबुत बनाउँदै अघि बढ्ने दिशामा सरकार गम्भीर छ ।’

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ पहिलो साता सकिँदैछ । त्यसअघि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगले वैशाख २२ भित्र स्थानीय निर्वाचन गरिसक्नुपर्ने प्रस्ताव गरिसकेको छ । गठबन्धनमा सहमति जुटेमा बिहीबार नै सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सक्ने बताइएको छ ।

यसअघि निर्वाचन आयोगले एकैचरणमा गर्ने भए आगामी वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ तथा २२ गतेको मिति सिफारिस गरेको छ । तर, सरकारले निर्वाचनको मिति तोकेको छैन ।