एमसिसी संसदमै लैजान दिनहुँदैन- सिपी गजुरेल

१८ पुस, काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिन नहुने बताएका छन् ।

उनले एमसिसी पारित गर्न नहुने भन्दै काठमाडौँको माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा यस्तो बताएका हुन् ।

उनले सम्झौतामार्फत दिने भनिएको रकम एनसेलको कर उठाउँदा जम्मा हुने भन्दै रकमभन्दा पनि परिणाम घातक रहेको जिकिर गरे ।

गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्त्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसिसी पारित गर्न नहुने बताए ।

चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसिसी सम्झौताका लागि दबाब दिएकाले विरोध गर्नु परेको उनको तर्क छ ।