१८ वर्ष माथिका सबैलाई फागुन १ देखि बुस्टर डोज

माघ २८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन् ।

कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै मन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् ।

‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ । पत्रकार सम्मेलनमा उनले भनेका छन्,‘फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ।’

सुरुआतमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने उनले बताए। त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनले बताए ।

यस्तै, विगतमा जोखिममा रहेका गर्भवती महिलालाई मात्र खोप दिने नीति लिएकोमा अहिले सबै गर्भवती महिलालाई पहिलो त्रैमासिकपछि खोप दिने नीति अपनाइने उनले बताए ।