पश्चिम नेपालमा वर्षा र हिमपात

माघ २०, काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको छ ।

बुधबार राति नेपाल प्रवेश गरेको मौसम प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरुमा मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

महाशाखाका अनुसार पानी पार्ने मौसमी प्रणाली बिहीबारसम्म गण्डकी प्रदेशसम्म आइपुगेको छ । सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र कर्णाली प्रदेशमा हिमपात भइरहेको छ । साथै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

वर्षाका कारण देशभर चिसो बढेको छ । बिहीबार साँझ सबैभन्दा कम तापक्रम कास्कीको लुम्लेमा (४।५ डिग्री सेल्सियस मापन गरिएको महाशखाले जनाएको छ । काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ ।

काठमाडौंमा आज राति वर्षा हुने

महाशाखाका अनुसार मौसमी प्रणालीको प्रभाव विस्तारै पश्‍चिमबाट पूर्वतिर सर्दै आएको छ । त्यसैले बागमती प्रदेश र प्रदेश-१ मा बिहीबार राति नै वर्षा र हल्का हिमपातको सम्भावना छ ।

पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सर्दै जान्छ। बिहीबार बागमती प्रदेश र प्रदेश(१ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ । उपत्यकामा आज रातिदेखि वर्षा हुनेछ भने तराईका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

वर्षा र हिमपातको क्रम शुक्रबार दिनभर रहने छ। शुक्रबार देशभर सबैजसो क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने गण्डकी र लुम्बिनीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस्तै शनिबार पनि गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने छ ।