सुकुम्बासी आयोगले दिएको जग्गा बिक्री गर्ने बिरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त जग्गा बिक्री गर्ने मालपोत कार्यालयका कर्मचारी र खरिद बिक्री कर्तासहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय, गुलरिया बर्दियामा कार्यरत खरिदार राधेश्याम झा, तहरिर नासु उदयशिंह रावल, नासु शम्भुप्रसाद अधिकारी, जग्गाधनी चन्द्र बहादुर सुनार र  जग्गा खरिद गर्ने टेक बहादुर सुनार बिरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।

आयोगबाट प्राप्त जग्गा २५ वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था भएकोमा मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा जग्गाधनी श्रेस्तामा २५ वर्षलाई काटी १५ वर्ष बनाई जग्गा बिक्री गरेको पाइएको आयोगको अनुसन्धानबाट खुलेको छ । मालपोतको श्रेस्ता सच्याउन कर्मचारीले ३५ हजार रुपियाँ घुस लिएको अख्तियारका प्रवक्ता नारायण रिसालले विज्ञप्ति प्रकाशित गरी जनाएका छन् ।