आजबाट मतदाता नामावली सङ्कलन सुरु

असार १ , काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्य आजबाट सुरु गर्दै छ ।

निर्वाचन आयोगले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली सङ्कलन कार्य सुरु हुने जनाएको छ ।  ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना भएकाले त्यो निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन कार्य सुरुहुने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगित गरिएको थियो । स्थगित भएको उक्त काम आजबाट पुनः सुरु गर्न लागिएको हो ।

आफ्नो नाम, थर, लिङ्ग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटि भएको भए यही बेला त्यसलाई सच्याउन सकिने आयोगले जनाएको छ । साथै आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने आयोगले जनाएको छ

यसैगरी मतदाता नामावली अद्यावधिकको काम पनि सबै निर्वाचन कार्यालयहरूबाट हुने निर्वाचन आयोगले जनाएको छ ।