रहेनन् कलाकार जयनन्द लामा

फागुन ११’ काठमाडौं : कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान उनको निधन भएको हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले जानकारी दिए। बुधबार बिहान आफ्नै घर अगाडि गाडीबाट ओर्लने क्रममा उनको लडेर निधन भएको हो ।

उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा निरन्तर चलचित्रमा अभिनयमा सक्रिय थिए। उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् लामा। उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घन्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो। यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए उनले। 

गाउँ पञ्चायतको सांगीतिक कार्यक्रम हुँदै अञ्चलस्तरीय कार्यक्रममा पनि गीत गाउन थाले। प्रजातन्त्र दिवस मनाउने र राजाको जन्मदिनसँगै मनाउने गरी आयोजना भएको कार्यक्रममा सहभागी भए। प्रज्ञा प्रतिष्ठानको जागिरे थिए उनी। प्रतिष्ठानले नै उनलाई इलाहाबाद संगीत विद्यालयमा मास्टर डिग्री पढ्न पठायो। नेपाल फर्केर उनी अहिलेसम्म लोकसंगीतमै सक्रिय छन्। एपी वान टेलिभिजनबाट प्रसारण भएको रियालिटी सो लोक स्टारको निर्णायक मण्डलमा पनि थिए लामा।

उनले थुप्रै मौलिक लोकगीत गाएका छन् । ‘पानी परो बलेसी हेरन बैनी झलल’, ‘रोको मनलाई बुझाउने को छ र ? ’, ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने।’ उनले यी बोलका गीत रेकर्ड गराए। उनी राजा महेन्द्र र वीरेन्द्रको नोटिसमा परेका थिए। दरबारमै बसेर पढ्ने मौका पाए। दरबारमै बसेर फाइन आर्टमा ब्याचलर्ससम्म अध्ययन गरे। अन्नपुर्णपोष्टबाट