बसन्त चौधरीका दुई काव्यकृति एकसाथ लोकार्पण

पुस २० काठमाडौँ । उद्यमी तथा कवि बसन्त चौधरीको नेपाली तथा हिन्दी काव्यकृति तिमीविनाको म र अनेक पल और मैँ लोकार्पण भएको छ । लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा आज आयोजित एक समारोहका बीच उक्त काव्यकृति लोकार्पण गरिएको हो । 

बसन्त चौधरी नेपाली, हिन्दी, अंग्रेजी भाषाहरुमा एक साथ सशक्तरुपमा कलम चलाउने कवि हुन् । उनको साहित्यिक यात्राका कैयौँ मोडहरु छन् । उनी गीत, गजल, कविता, कथा, निबन्ध र जीवनलाई मार्गदर्शन गर्ने विधा आदिमा कलम चलाउँछन् । 

उनी लूनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरका अध्यक्ष समेत हुन् । उनको अनेक पल और मैँ वाणी प्रकाशनद्वारा हालै प्रकाशित भएको काव्यकृति हो । उनी नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कार, नई–ईश्वरवल्लभ साहित्य पुरस्कार तथा कैयौँ पटक इमेज अवार्डद्वारा पुरस्कृत श्रष्टा हुन् । 

यसअघि उनका राष्ट्रियता नदुखोस्, संवाद, मेरा डायरीका पानाहरु, मेघा, मेरा कविताहरु, जीवन मन्त्र, बसन्त, आँसुऔँ की सियाही से र वक्त रुकता नही कृति प्रकाशित भइसकेका छन् ।