सिटीलाई ११ अंकको अग्रता, चौथो स्थानमा वेष्टह्यामको दबाब कायम

काठमाडौं । म्यानचेस्टर सिटीले शनिबार राति आर्सनललाई २–१ ले हराउँदै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । गएराति नै वेष्ट ह्याम र टोटनहमले आ–आफ्नो खेल जित्दै चौथो स्थानमा आर्सनलमाथि दबाब कायम राखेका छन् । 

लन्डन क्लब आर्सनलले घरेलु मैदानमा बुकायो साकाको गोलबाट ३१औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउन नसक्दा घरेलु समर्थक निराश बने । ५७औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा बराबरी गोल फर्काए । मिडफिल्डर बर्नान्डो सिल्भालाई आर्सनलका ग्रान्ट जाकाले फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको हो । त्यसमा महारेजले गोल गरेका हुन् । रेफ्री स्टुवार्ट एटवेलले सुरुमा फाउल दिएका थिएनन् । तर, भिडियो सहायक रेफ्रीको सहायतामा सिटीले पेनाल्टी अवसर पाएको हो । 

६९औं मिनेटमा गाब्रियलले दोस्रो पहेंलो कार्डको सामना गरेपछि आर्सनल दश खेलाडीमा सीमित बन्यो । त्यसको फाइदा लिन सिटीलाई इन्जुरी समयसम्म कुर्नुपर्यो । इन्जुरी समयमा रोड्रीले गोल गरेपछि सिटीले तीन अंक पक्का गर्यो । 

सिटीका गोलकिपर एडर्सनले आर्सनलका मार्टिन ओडेगार्डलाई फाउल गरेको भनि घरेलु टोलीले पेनाल्टी अपिल गरेको थियो । तर, रेफ्रीले भिडियो सहायक रेफ्रीको साहायता लिन अस्विकार गरिदिए । 

‘‘हामीसँग भिडियो सहायक रेफ्री हुँदाहुँदै पनि किन रेफ्रीले एक पटक आफ्नो नियर्णलाई परीक्षण गर्न मानेनन् ? त्यस्तो हुनुहुँदैनथ्यो । त्यसबाट हामी निराश छौं,’’ आर्सनलका सहायक प्रशिक्षक अल्बर्ट स्टुईभानबर्गले भने । 

जितसँगै सिटीले २१ खेलबाट ५३ अंक जोडेको छ । जुन दोस्रो स्थानको चेल्सीभन्दा ११ अंकले माथि हो । एक खेल कम खेलेको चेल्सीले आइतबार राति तेस्रो स्थानको लिभरपुलविरुद्ध खेल्दै छ । 

कोभिड–१९ संक्रमणका कारण प्रशिक्षक मिकेल आर्टेटालाई गएरातिको खेलमा गुमाएको आर्सनलले २० खेलबाट ३५ अंक जोडेको छ । जुन पाँचौं स्थानको वेष्ट ह्यामभन्दा एक अंक र छैटौं स्थानको टोटनहमभन्दा दुई अंकले माथि हो । टोटनहमले दुई खेल कम खेलेको छ । 

गएराति नै सम्पन्न खेलमा वेष्ट ह्यामले क्रिष्टल प्यालेसलाई ३–२ ले हराउँदै नयाँ वर्ष २०२२ मा सुखद सुरुआत गरेको हो । भ्रमणकारी वेष्ट ह्यामले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।

माइकल एन्टोनियोले २२औं मिनेटमा गरेको गोलबाट वेष्टह्यामले अग्रता लिएको थियो । २५औं मिनेटमा म्यानुयल लानजिनीले अग्रता दोब्बर बनाए । लानजिनीले पहिलो इन्जुरीमा व्यक्तिगत दोस्रो गोल गर्दै वेष्ट ह्यामलाई ३–० को अग्रता दिए । 

अन्तिम सात मिनेटमा दुई गोल फर्काए पनि क्रिष्टल प्यालेसले बराबरी गर्न भने सकेन । ८३औं मिनेटमा ओडसोन इडोवार्डले गोल गरेका थिए । ९०औं मिनेटमा माइकल ओलिसले दोस्रो गोल फर्काएका थिए ।

वाटफोर्ड भ्रमणमा रहेको टोटनहमका लागि ड्याभिसन सान्चेजले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । 

पराजित वाटफोर्ड १३ अंकका साथ १७औं स्थानमा छ । जुन रेलिगेशन क्षेत्रको बर्नलीभन्दा दुई अंकले माथि हो । तर, बर्नलीले दुई खेल कम खेलेको छ । क्रिष्टल प्यालेस भने २३ अंकका साथ ११औं स्थानमा छ ।