ntc

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

        #विद्युत्   |   16 Views   |   Published Date : 14th November 2021 |

कात्तिक २८,काठमाडौं। भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ। गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो। बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। ‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन। मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो। यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

भारत सरकारको अनुमति पाएसँगै प्राधिकरणले गत कात्तिक १७ गतेयता निरन्तर त्यहाँको विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धीदरमा बिजुली विक्री गर्दै आएको छ। सामान्यतया प्राधिकरणले दैनिक औसतमा प्रतियुनिट भारू ३/४ मा बिजुली विक्री गर्दै आएको छ। भारतमा देखिएको ऊर्जा संकट र पिक आवरमा विद्युत्को मूल्य बढ्ने गरेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले कात्तिक १७ गतेयता आफ्नै स्वामित्वको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गर्दै आएको छ। प्राधिकरणले दिनमा १५/१५ मिनेटको ९६ ओटा ब्लकमार्फत विजुली बिक्री गर्छ। त्यसअनुसार विद्युत् एक्सचेन्ज मार्केटमा १५/१५ मिनेटमा नै बिजुलीको खरीदविक्री दर थपघट हुने गर्छ। त्यस क्रममा बिहीवार साँझ ६ : ३० देखि ६ : ४५ सम्मको ब्लकमा भारू २० मा नेपाली विद्युत् विक्री भएको हो। प्राधिकरणका अनुसार प्रत्येक ब्लकमा विद्युत्को खरीदविक्री दर फरकफरक वा एउटै पनि हुन सक्छ। भारू १ दशमलव ९९ मा पनि बिजुली विक्री हुने गरेको प्राधिकरणको भनाइ छ।

आर्थिकअभियानदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।