ntc

२८ प्रतिशतले लगाए पूर्णमात्रा खोप

        #खोप   |   16 Views   |   Published Date : 30th September 2021 |

असोज १४,काठमाडौं। देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलकाअनुसार यसमध्ये २८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । उनका अनुसार नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा कोभिड–१९ विरुद्धको खोप आएको छ। आएका खोपमध्ये सबैभन्दा धेरै चीनको भेरोसेल खोप रहेको उनले बताए । पौडेलका अनुसार भेरोसेल खोप मात्रै नेपालमा एक करोड १९ लाख मात्रा खोप आएको छ। त्यसपछि धेरै आउनेमा भारतमा बनेको कोभिसिल्ड खोप रहेको छ। कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ। यस्तै बेलायतमा उत्पादन भएको अस्ट्राजेनेका खोप १९ लाख ७५ हजार ८६० मात्रा, जोनसन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन्। भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आएपछि गत माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु भएको थियो।

प्रवक्ता पौडेलले गत महिनाको तुलनामा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको जानकारी दिए। गत महिना ३६ हजार ८६१ जना अर्थात् ४.८६ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १८ हजार ४२२ अर्थात् २.३२ प्रतिशतमा झरेको छ ।

गोरखापत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।