मल खरिदमा साढे एक अर्ब बढी भ्रष्टाचार, कृषि सामाग्रीका प्रबन्ध सञ्चालकसहित १२ जना विरुद्ध मुद्दा

१८ पुस, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री केन्द्रका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गुणस्तरहीन रासायनिक मल आयात गरेको आरोपमा विशेष अदालतमा १० जनासहित दुई कम्पनीलाईसमेत विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गलत प्रतिवेदन तयार गर्ने गराउने कार्यमा संलग्न नेपाल इन्भारमेन्टल एन्ड साइन्टिफिक सर्भिस प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यलाई समेत मुद्दा दायर गरेको हो ।

आयोगले कृषि सामग्री केन्द्रका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप(प्रबन्धक पुष्कर दीप बुढासमेतले कृषि सामग्री कम्पनीलाई हानि नोक्सानी पुर्‍याएको र आफूसमेतलाई गैर कानुनी लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि भएको दाबी गरेको छ । उनीहरूविरुद्ध एक अर्ब ५३ लाख २२ हजार चार सय ६ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उक्त कम्पनीलाई भुक्तानी भएको रकमको ९० प्रतिशत हुने गरी भ्रष्टाचारको आरोपमा बिगो कायम गरेको छ ।