ntc

प्रहरीलाई पोसाकदेखि सलामीसम्ममा नियम

        #प्रहरी   |   44 Views   |   Published Date : 14th September 2020 |

भदौ २९,काठमाडौं। प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन्। सो कार्यादेशमा प्रहरी संगठनभित्र रहँदा पालना गर्नुपर्ने अनुशासन, सम्मान तथा आवश्यक नियमबारे उल्लेख गरिएको छ। कार्यादेश जारी गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरूले संगठनलाई सही मार्गमा लैजान दुरगामी रूपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

‘कार्यादेश र निर्देशिकाले संगठनलाई सही मार्गमा लैजान दुरगामी रूपमा सकारात्मक असर पार्छ, यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत गर्छ,’ कार्यादेश सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले भने। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले प्रहरी संगठनभित्रको आचरण र व्यवहारका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको र सो कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको बताए।

‘प्रहरी संगठनभित्रको विभिन्न नियम पालनाका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको हो। कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास छ,’ प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भने। कार्यादेशमा जनसम्पर्क तथा भेटघाटसम्बन्धी व्यवहार, अनुशासन र भाइचारा, कानुनको पालना, सञ्चार माध्यमसँगको सम्बन्ध, पोसाकप्रतिको व्यवहार, राष्ट्रिय झन्डाप्रतिको सम्मान, सलामीसम्बन्धी व्यवस्था र सम्मान तथा भान्छामा गरिनुपर्ने व्यवहारलगायतलाई स्पष्ट पारिएको छ ।

कार्यक्रममा महानिरीक्षक क्षत्रीले प्रहरी संगठनमा व्यावसायिकता नै मुख्य भएकाले सडकमा समेत व्यावसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

राजधानीदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।