ntc

छोरी शिक्षा बिमाप्रति आकर्षण दस दिनमा पाँच हजार छोरी बिमित

        #छोरी   |   78 Views   |   Published Date : 28th January 2020 |

माघ १४,जनकपुरधाम। प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा(मुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ। यही माघ २ बाट प्रदेशका आठवटै जिल्लामा सञ्चालन भएको शिविरमार्फत अहिलेसम्म पाँच हजारभन्दा बढी छोरी बिमित भएका छन् । २०७५ माघ १ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत एक वर्षमा जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रका अनुसार यही माघ १० सम्ममा पाँच हजार ४० छोरीको बिमा गरिएको छ। सप्तरी जिल्लामा ८८८, सिरहामा ६६३, धनुषामा ३४६, महोत्तरीमा ६४५, सर्लाहीमा ७६८, रौतहटमा ४६२, बारामा ८०५ र पर्सामा ४६३ छोरीले शिविरमार्फत बिमा गराएको उनले बताए । बिमाका लागि आवश्यक जन्म दर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुवाको नागरिकता र बच्चा तथा अभिभावकको ६÷६ थान फोटो आवश्यक हुन्छ । यति प्रमाण भएपछि प्रदेश सरकारले शिविरमार्फत बिमाको व्यवस्था गरेकोे छ । शिविरमा प्रभु बैङ्कका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरू, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शङ्कर सुवेदीले बताए।

मुख्यमन्त्री लालबाबु राउतले माघ २ गते पर्साको वीरगन्जबाट र अन्य सात जिल्लामा मन्त्रीहरूको विशेष उपस्थितिमा एकसाथ सुरु गरिएको शिविर आउँदो फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालन हुने सचिव सुवेदीले बताए। यसका साथै शिविरमा बिमा गराउने बालिकाको परिवारले तीन महिनाका लागि सुविसुको फ्री इन्टरनेट सेवासमेत पाइरहेको बताइएको छ । यसैबीच सप्तरीको तीन नगरपालिका र एक गाउँपालिकामा यो शिविर सम्पन्न भएको छ। शिविरमा हालसम्म ८४४ बालिकाको शिक्षा बिमा-मुद्दती खाता खोलिएको अभियानका सामाजिक सुरक्षा जिल्ला संयोजक पुनम चौधरीले जानकारी दिए । बोदेबरसाइन नगरपालिकामा १८४, डाक्नेश्वरी नगरपालिकामा २७६, हनुमाननगर कङ्कालिनी नगरपालिकामा २९३ र अग्निसाइर कृष्णसवरण गाउँपालिकामा १२१ गरी ८४४ बालिकाको निःशुल्क मुद्दती खाता सञ्चालन भएको चौधरीले बताए । शिविर जिल्लाका १८ वटै स्थानीय तहमा गर्ने गरी एकमहिने कार्यक्रम सार्वजनिक गरिएको छ । उनले भने यो, “नगरपालिकामा दुई-दुई दिन र गाउँपालिकामा एक÷एक दिन शिविर आयोजना हुन्छ। आउँदो फागुन ४ गते तिलाठी कोइलाडीमा शिविर अन्तिम हुन्छ ।”

बिमा गरिएका बालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण भइरहेको बताइएको छ । बालिकाको २० वर्षपछि उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने उद्देश्यले अहिले जन्मिने बालिकाको एक लाख २५ हजार रुपियाँको बीमा भइरहेको छ । बिमा प्रिमियमस्वरूप एकमुष्ठ १४ हजार ६४७ जम्मा गर्नुपर्ने पनि बताउँदै उहाँले तीमध्ये मुख्यमन्त्रीको कार्यालयले १३ हजार ६४७ र सम्बद्ध बैङ्कले एक हजार रुपियाँ जम्मा गरिदिने प्रावधान रहेको बताउनुभयो । अहिले गरिएको बिमा रकमबाटै बालिकाले २० वर्षपछि एक लाखभन्दा बढी रकम पाउने र सो रकमबाट उच्च शिक्षा हासिलमा सहयोग पुग्ने अपेक्षा छ । त्यसैगरी सर्लाहीको साविक लालबन्दी, पत्थरकोट र जब्दीका लागि लालबन्दी नगरपालिकाको कार्यालय परिसर, परवानीपुर र रानीगन्जका लागि रानीगन्ज वडा कार्यालय र नेत्रगन्जका लागि नेत्रगन्ज वडा कार्यालयमा शिविर आयोजना गरी छोरीको शिक्षा बिमा गरिएको छ ।

नगरपालिकाको अति विकट क्षेत्रमा पर्ने साविकको नारायणखोला अर्थात् हालको वडा नम्बर १४ मा भने यही माघ १८ गते त्यहीँ गएर छोरीको शिक्षा बिमा गर्न शिविर आयोजना गरिने छ । विकट गाउँका बासिन्दालाई सहज होस् भनी त्यहीँ गएर खाता खोल्ने व्यवस्था मिलाउन लागिएको हो । शिविरमा नगरपालिका आफैँले अभिभावक र छोरीहरूको छ÷छ प्रति फोटो निःशुल्क रूपमा खिचेर उपलब्ध गराइरहेको छ भने खाता सञ्चालन हुने प्रभु बैङ्कका प्रतिनिधिसँगै राखेर खाता खोल्ने गरिएको सो नगरपालिकाले जनाएको छ ।

गोरखापत्रअनलाईनबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।