ntc

मैले प्रतिनिधिसभाको गरिमा र प्रतिष्ठा जोगाउने लडाईँ जितेँ : शिवमाया

        #शिवमाया   |   83 Views   |   Published Date : 20th January 2020 |

माघ ६,काठमाडौं। उपसभामुख डा.शिवमाया तुम्वाहाङ्ले पदबाट राजीनामा दिएकी छन्। पदत्यागको घोषणा गर्दै सभामुख पदमा उम्मेदवार नतोक्दासम्म राजीनामा दिने आफ्नो अडान कुनै आग्रह वा आकांक्षा राखेर नगरेको दाबी गरेकी छन्।

उपसभामुखबाट प्रतिनिधिसभाको गरिमा जोगाउने लडाईँ आफूले जितेको उनले बताएकी छन्। संसद बैठकमा पदबाट राजीनामाको घोषणा गरेलगत्तै पत्रकार सम्मेलन गरेकी शिवमायाले भनिन्, ‘म आज लडाईँ शब्द प्रयोग गर्छु, मलाई यो शब्द एकदमै मन परेको शब्द हो, मैले प्रतिनिधिसभाको गरिमा र प्रतिष्ठा जोगाउने लडाईँ जितेँ।’ उनले अघि भनिन्, ‘प्रतिनिधिसभा र दल आफ्नो क्षेत्रअनुसार चल्नुपर्छ मैले भनेकी हुँ। प्रतिनिधिसभाको इज्जत जोगाउन दलको निर्देशन मान्दिनँ भनेको हुँ। नेकपा नेताहरुले भने अनुसार राजीनामा दिएको भए नेपाली जनताको भावनाविपरीत हुन्थ्यो। मैले आफूले बोलेको कुरा पुर्‍याएँ, संविधानअनुसार प्रतिनिधिसभाको प्रणाली स्थापित गर्न सकेँ।’

उनले प्रतिनिधिसभाको उपसभामुख पदबाट राजीनामा दिँदा पनि आफू खुशी भएको बताइन्। उनले भनिन्, ‘एउटै पदमा बसेर पाँच वर्ष काम गर्नु परेन, मेरो प्रगति भएको छ। मेरो कार्यकाल ५ वर्ष भए पनि दुई वर्षमै निस्कनु पर्‍यो, खुशी छु।’ अब आफूले देश र जनताका लागि केही गर्ने बताएकी शिवमायाले योजना भने खुलाइनन्। ‘छिट्टै मैले केही गरेको पाउनुहुनेछ, नयाँ कामबारे त्यहीबेला नै गफ गरौँला’, उनले भनिन्। शिवमायाले मुलुकमा अहिले पनि पित्तृसत्ताले जरा गाडेर बसेको बताइन्। ‘पित्तृसत्ता फाल्न ठूलो शक्ति आवश्यक छ, त्यसका लागि तपाईँहरु पनि कलम चलाउनुहोस् एक दुईजना व्यक्ति लागेर नहुँदो रहेछ’, उनले भनिन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।