ntc

१३ औं साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो: मन्त्री विश्वकर्मा

        #जगत बहादुर विश्वकर्मा   |   164 Views   |   Published Date : 10th May 2019 |

बैशाख २७,काठमाडौं। युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन्। आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटि रहेको मन्त्री विश्वकर्माले विश्वास दिलाए। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले अब साग प्रतियोगितको मितीमा कुनै द्धिविधा नभएको पनि स्पष्ट पारे।

उनले सरकारको आर्थिक वर्ष २०७६-७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३ औं साग प्रतियोगिता आयोजना गर्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको क्रममा भनिसकेको र कार्यक्रम पनि पारित भैसकेको जनाए। हिजोमात्रै आफ्नै अध्यक्षतामा उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको उनले जानकारी दिए। उनले भने,‘हिजो बसेको समितिको बैठकले महत्वपूर्ण निर्णय गरेको छ। अब हामीले छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौं।’ त्यतिमात्रै नभए उक्त प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई औपचारिक रुपमै आमन्त्रण गर्ने पनि निर्णय भएको उनले जनाए। मन्त्री विश्वकर्माले १३ औं साग आफूहरुको लागि गौरवको विषय पनि भएकोले भव्यताका साथ सम्पन्न गर्नेतर्फ तयारीमा जुटिसकेको बताए । उनले भने,‘हामीले तेस्रो पटक सागको आयोजना गर्दैछौं। यो प्रतियोगिताको विगतलाई हेर्दापनि हाम्रो गर्विलो ईतिहास छ। १९९९ मा नेपालले दोस्रो स्थान हाँसिल गरेको थियो । १८ औं एशियन गेममा पनि नेपालले ३३ औं स्थान हासिल गरेको थियो। नेपालले २० वर्षपछि रजतपदक हाँसिल गरेका थियो।’ मन्त्री विश्वकर्माले सिमित स्रोत र साधनको बावजुदपनि नेपालले खेलकुद क्षेत्रमा प्रगति गरिरहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो उत्साहजनक र गौरव गर्नसक्ने ईतिहास छ। र, अझै गौरव गर्नलायकको अवस्था बनिरहेको छ।’ १३ औं साग प्रतियोगितमा नेपालले आफ्नो ईतिहास कायम र रक्षा गर्ने अभिभारा आफूहरुसँग रहेको पनि मन्त्रीले विश्वकर्माले सुनाए।

उनले यो प्रतियोगितमा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको पनि दाबी गरे। उनले भने,‘हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेको छ।’ त्यस्तै, तयारी तथा व्यवस्थापन समितिले राष्ट्रिय टिम घोषणा गर्नेदेखि लिएर खेलाडी छनौट गर्नेपनि उनले जनाए । उनले भने,‘खेलाडी छनौट गरिसकेपछि हामी बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण दिन्छौं । जेठसम्म सबै काम सम्पन्न गरिसक्छौं ।’ प्रतियोगितामा २७ वटा खेलको आयोजना गरिने पनि उनले स्पष्ट पारे। त्यस्तै, प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तिव्र गतिमा भैरहेको पनि उनले जनाए । उनले भने,‘भुकम्पपछि भत्किएको दशरथ रंगशालाको पूर्ननिर्माणको काम पनि तिव्र गतिमा भैरहेको छ । अब अन्तिम चरणमा पुगेको छ । सातदोबाटो पौडी पोखरीको पनि निर्माण कार्य सम्पन्न भैसकेको छ । सातदोवाटोकै तेक्वाक्दो र कराँतेको हलपनि निर्माण भैसकेको छ।’ पोखरा रंगशाला निर्माण तिव्र गतिमा भैरहेको पनि उनले सुनाए । असार मसान्तसम्म सबै संरचनाको निर्माण कार्य सम्पन्न भैसक्ने मन्त्री विश्वकर्माको दाबी छ। मन्त्री विश्वकर्माले साग प्रतियोगिता आयोजना तथा सञ्चालनसम्बन्धी कार्यविधिपनि आउने हप्ता मन्त्रिपरिषद बैठकमा पेश हुने जनाए । उनले भने,‘कार्यविधि पेश भएपछि हामी मसिनो ढंगले तयारीमा लाग्छौं । आन्तरिक प्रतियोगिता सञ्चालन गर्नपनि आधुनिक रंगशाला निर्माण गर्नुपर्ने भएकोले सोही अनुसार आफूहरु निर्माण प्रक्रियामा लागिरहेको पनि मन्त्री विश्वकर्माले जनाए। उनले भने,‘अहिले हामीले पूर्वाधारको अभाव र महशुस गरेका छौं।’ काठमाडौं उपत्यकाभित्र खेलकुद भौतिक संरचना बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया समेत सरकारले सुरु गरिसकेको उनको भनाई छ। त्यस्तै, ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला बनाउने र ७५३ वटै स्थानीय निकायमा एउटा एउटा खेलग्राम बनाउने पनि उनले जनाए। त्यसको लागि आगामी बजेटमै सबै कुराको उचित व्यवस्था गरिने पनि उनले स्पष्ट पारे।

त्यस्तै, उनले भएका खेलकुद संरचनाको स्तरोन्नती तथा मर्मतसम्भार गर्नेपनि बताए। हालै सम्पन्न आँठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि आफूहरु गम्भिर समिक्षा गरिसकेको र सो सँगै नवौं प्रतियोगिताको तयारीमा जुटिकसकेको उनले जनाए । साग प्रतियोगितामा कति नेपाली खेलाडी सहभागी हुन्छन् भन्ने कुरा निर्धारण भैनसकेको उनले स्पष्ट पारे। खेलकुद क्षेत्रको विकासको लागि सरकारी, निजी तथा गैरसरकारी सबैले मिलेर सहकार्य गर्नुपर्ने पनि उनले आवश्यकत्ता औंल्याए। धुर्मुश–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लागेको कुरा सकारात्मक भएको पनि उनले विश्वास दिलाए। सरकारले खेलाडीको सेवा र सुविधामा पनि विशेष ध्यान पु¥याएको मन्त्री विश्वकर्माको दाबी छ । उनले भने,‘स्वर्ण पदक विजेताहरुलाई सरकारले आजिवान मासिक ५ हजार सम्मान भक्ता प्रदान गर्दै आएको छ।’ त्यस्तै उनले अब बन्ने सबै खेलकुद पूर्वाधार अन्तर्राष्ट्रियस्तरको हुनेपनि विश्वास दिलाए। आगामी २-४ वर्षभित्र नेपालमा पूर्वाधारको कुनै अभाव अर्थात प्रतिकुलता नहुनेपनि उनले जिकिर गरे।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।