ntc

फ्ल्यासब्याकमा रामकुमारी झाँक्री : आधा रातसम्म हुने त्यो फोन वार्ता

        #रामकुमारी झाँक्री   |   75 Views   |   Published Date : 12th February 2019 |

माघ २९,काठमाडौं। प्रेममा न विषय चाहिने न समय चाहिने, समय कति हुन्छ भन्ने पनि छैन, समय र विषयबिनाको छलफल असिमित हुन्छ । माया नै हो भनूँ भने ‘आई लभ यू’ भन्ने शब्द दुवैको मुखबाट कहिल्यै निस्किएन। माया होइन भनौं भने आधा रातसम्म फोनमा कुराकानी भैरहन्थ्यो। त्यो पनि एक–दुई घण्टा, एक–दुई पटक होइन, प्रत्येक रात घण्टौंसम्म। अवस्था यस्तो भयो कि राजनीतिक दर्शन र अध्ययनमा लगनशील अनेरास्ववियु नेतृको पढ्ने सेड्युल नै बिग्रियो। दर्शनको साटो अव्यक्त प्रेम अध्याय सुरु भयो। हालैको एक भेटमा एमाले नेतृ तथा अनेरास्ववीयु पुर्व अध्यक्ष रामकुमारी झाँक्री १३ वर्षअघि पुगिन्। त्यो फ्ल्यासब्याकमा छुटेका कुरालाई थप्न गर्न उपस्थित थिए नेपाल सरकारका उपसचिव पशुपति पुरी अर्थात् रामकुमारीका श्रीमान् ।

कुरा २०६२ साल अन्तिमतिरको हो। जतिबेला दोस्रो जनआन्दोलन चलिरहेको थियो। उक्त आन्दोलनकी एक शशक्त आन्दोलनकारी थिइन्– रामकुमारी। आन्दोलनको केन्द्र थियो बानेश्वर एरिया। आन्दोलनसँगै खाजा खाने स्थान पनि त्यहीं वरपरका क्याफे हुन्थे। एक दिन क्याफेमा चिया खाने सन्दर्भमा उनकी एक जना साथी नयाँ साथी लिएर खाजाखान क्याफे पुगिन्। चिनजान भयो, तत्कालीन राजनीतिक परिवेशको कुराकानी भयो। राजनीतिक सेलीब्रेटी धेरैले फोन नम्बर लिन्थे र दिन्थे। त्यसैगरी सहजै फोन नम्बर साटासाट भयो। रामुकमारी बेलुका कोठामा पुग्दा नपुग्दै कल आइसकेको थियो। त्यो फोन गर्ने अरू कोही नभएर दिउँसो भेट भएका उनै पशुपतिको थियो।

के पहिलो भेटमै पशुपतिले रामकुमारीलाई मन पराइसकेकै थिए त ? ‘मायाले नै त होइन होला। मैले अन्य कामले नै गरेको हुनुपर्छ।’ पशुपति सम्झन्छन् ‘पहिलो भेट थियो, लभ– विवाह कुनै प्रसंग नै थिएन,’ तर रामकुमारी भने कामको त बहाना मात्र भएको बताउँछिन् ‘दिउँसो भेट भएको मान्छे घर नपुग्दै फोन आउनु, काम त बहाना मात्र रहेछ (लामो हाँसो)।’ तर रामकुमारीलाई त्यो पहिलो कलको नम्बर नै कण्ठ भयो। यसलाई उनी संयोग मान्छिन् अनि त्यो भेटलाई नै आफ्नो जीवनको माइलस्टोनका रूपमा लिन्छिन्।

‘सार्वजनिक अनुहार हुनुहुन्थ्यो टिभीमा देखिरहेको, मेरो साथीकी श्रीमती उहाँको पनि साथी हुनुहुँदो रहेछ, उहाँकै माध्यमबाट भेट भएको हो।’ खाँटी कुरा पशुपतिले खोले, ‘चिया पिउने सन्दर्भमा भेट भएको हो।’ पहिलो भेट भएको विषयमा दुवैका कुरा खासै बाँझेनन्। त्यसपछि पछिका भेटघाट र फोनकल सामान्य हुन थाल्यो। आन्दोलनको मध्यअवस्था भएको हुँदा उनीहरूबीच आन्दोलनकै विषयमा पनि कुराकानी हुन्थ्यो। ‘जब आन्दोलन सकियो अनि भेटघाट र फोनकल बाक्लिन थाल्यो।’ रामकुमारी सम्झन्छिन् ‘यतिसम्म कि म प्राय: कुनै पनि ठाउँमा समयमा नपुग्ने मान्छे, पहिलो औपचारिक भेटमा म उहाँभन्दा पहिले पुगेछु।’ त्यसो भए गणतन्त्र आए सँगै तपाईंहरूको मायाप्रेम पनि विकसित भयो होइन ? ‘मायाप्रेम भन्ने कि नभन्ने ?’ रामकुमारी सोचमग्न भइन्। त्यही बेला पशुपतिले सामान्य कुरा चुहाउन खोजे, ‘निरन्तर भेट हुँदै जाँदा अबचाहिँ विवाह गर्नुपर्छ भन्ने लाग्न थाल्यो। त्यत्तिकैमा रामकुमारीले पशुपतिलाई रोक्दै भनिन्, ‘मेरो धेरै बोल्ने बानी छ।’ ‘भेटघाटका लागि कुनै न कुनै प्रसंग हुन्थ्यो। भेटघाट गर्न मन लाग्थ्यो तर त्यहाँ कहिल्लै पनि मायाप्रेमका कुरा भएनन्।’

अव्यक्त प्रेममा परेका यी दुईको प्रेमकहानी पनि गजबकै देखियो। राजनीतिक रूपमा सचेत एक नेतृ र नेपाल सरकारका अधिकृत स्तरका जिम्मेवार कर्मचारी एक–अर्कासँग भेटघाट गर्न बहाना खोज्थे, जब बहाना मिल्यो अनि राजनीतिक, सामाजिक एवं राज्य संयन्त्रका विषयमा कुराकानी हुन्थे। ‘व्यक्तिगत भन्दा पनि समसामयिक कुराकानी बढी हुन्थ्यो।’ पशुपति भन्छन्, ‘उहाँ सार्वजनिक जीवनको मान्छे, त्यस्तो कुरा हुनुसामान्य थियो।’ यसलाई रामकुमारी यसरी प्रस्ट पार्न खोज्छिन्, ‘मसँग कुराकानीभन्दा पनि आएका साथीभाइहरूसँग चिनजान र कुराकानी गर्दा नै छुट्टिने समय भैसक्थ्यो।’

अनि घण्टौंसम्म फोनमा

वन विभाग, बबरमहलमा कार्यरत पशुपति दोस्रो जनआन्दोलनपछि लेखनाथ नगरपालिका पोखरा सरुवा भए। पोखरा गएपछि भने बल्ल दुवैले माया झांगिएको महसुस गरे। कुनै दिन फोनमा कुराकानी नभए दुवैलाई के–के बिर्सिएजस्तो लाग्न थाल्यो । एकजना विद्यार्थी नेतृ, अर्को सरकारी अधिकृत, दिउँसो दुवै व्यस्त, अति आवश्यक परेका बेला मात्र कुरा हुन्थ्यो । टेलिकलमले राति १० बजेपछि विशेष छुट दिने हुँदा त्यो बेलासम्म कुर्न दुवैलाई हम्मे–हम्म पर्न थालिसकेको थियो। ‘उहाँसँग भेट हुनुअघि म १० बजेपछि नियमित रूपमा अध्ययन गर्थे।’ रामकुमारी भन्छिन्– ‘फोन नियमित भएपछि पढाइ नै बिग्रियो।’ भनेपछि साँच्चै माया बसेछ रु प्रश्न भुइँमा खस्न नपाउँदै पशुपति भन्छन्, ‘माया भएरै त होला नि † यति धेरै सम्पर्क भएको।’ उनीहरूको माया यति गहिरियो कि राती दस बजे सुरु भएको कुराकानी घण्टौंघण्टासम्म चल्न थाल्यो।

५९ मिनेटमा गएर टुंगिने फोनका कल एकै रातमा धेरै पटक रिकल भए। ‘कुरा गर्दै जाँदा एउटा टपिक्स सकिएपछि भोली बिहान यस्तो कार्यक्रम छ अब सुतौं, भन्यो फेरि कहाँबाट अर्को टपिक्स आउँथ्यो, फेरि कुरा लम्बन्थ्यिो।’ रामकुमारी सम्झन्छिन्– ‘एक रातमै धेरै पटक घण्टा–घण्टा बितेका छन् ।’ यति सम्म कि कर्मचारी हुनुपुर्व कैयौं आन्दोलनमा सामेल भएका पशुपति र एमाले विद्यार्थी नेतृबीच फोनमै कहिले राजजीतिक पार्टीभित्रका गुटका कुरा त, कहिले राजनीति र कर्मचारी प्रशासनबीचको वैमनस्यतालाई लिएर फोनमै झगडा हुन्थ्यो। ‘तर व्यक्तिगत कुरा कहिल्यै भएनन्।’ पशुपतिले यहाँ अलिकति चतुर्‍याइँ गरे। राधाकृष्ण मैनालीको एक पुस्तकमा उल्लेख भएको वाक्यझैं लाग्छ रामकुमारीलाई – प्रेममा न विषय चाहिने न समय चाहिने, समय कति हुन्छ भन्ने पनि छैन, समय र विषयबिनाको छलफल असिमित हुन्छ।

अनि विवाहको योजना

०६२ अन्तिमदेखि २०६६ सालसम्मको झन्डै चार वर्ष पशुपति र रामकुमारीले कतिपटक भेटघाट गरे, कति घण्टा फोनमा वार्तालाप गरे होला रु दुवैले यो प्रश्नको जवाफ सम्झन सकेनन्, तर एउटा कुरा भने उनीहरू दुवै आत्मविश्वासका साथ भन्छन्’, दुवैजना एक–अर्कालाई मन पराउँथे तर कहिल्यै मुख खोलेर एक अर्कालाई ‘आई लभ यू’ भनेनन् र ‘आई वान्ट म्यारी विद यू’ पनि भनेनन्। किन त ? ‘माया कहिले बस्यो भन्ने ठ्याक्कै याद नै भएन।’ रामकुमारी भन्छिन्, ‘विवाह गर्ने ६ महिना अघि मात्र पो याद भएछ, ए हाम्रो त अव विवाह पो हँुदैछ है भनेर ?’ त्यसो त पशुपतिले सुरु–सुरुमा उनीहरूबीच विवाह होला भन्ने सोचेकै थिएनन् । बिस्तारै कुरा गर्दै जाँदा विचार मिल्दै गयो। ‘म पनि विवाह गर्ने उमेर पुगेको थिएँ, उहाँको पनि विवाह गर्ने बेला भएको थियो, साँच्चै भन्दा उमेर घर्किन लागेको थियो।’ पशुपति सम्झन्छन्, ‘दुवै एक्ला–एक्लै भएपछि ल विवाह गरौं न त भनियो, त्योभन्दा अघि विवाह गर्ने भन्ने औपचारिक प्रस्ताव कहींबाट भएको थिएन।’

यद्यपि रामकुमारीको मनमा भने पहिले नै हामी विवाह गर्छौं भन्ने थियो। कसरी गर्ने, कहिले गर्ने भनेर एक–अर्काले कुरा राख्नै परेन। अनि विवाह पछि के हुन्छ, कुनै प्लानिङ नै भएन, गरेनन् पनि । त्यसो भए त्यत्रो वर्षको संगतमा कुराचाहिँ के हुन्थे त ? प्रश्न तेस्याइयो। एकै सासमा उनले भनिन्, ‘हामी अरूका बारेमा कुरा गथ्र्यौं, तर आफ्ना कुरा कहिल्यै गरेनौं, माया, प्रेम, विवाह गर्ने कुरा हाम्रो एजेन्डा नै बन्दैनथे।’ अचम्म नै मान्नुपर्छ। यति शिक्षित र चेतनशील जोडी आफुले कुरा राखेर प्रेम र विवाहमा पुगेका होइन रहेछ। कुरा अन्तिम–अन्तिमतिर खुल्यो, जसले उनीहरूको पहिलो भेटघाट गराइदिएका थिए। उनीहरूले नै दुवैलाई विवाह गर्न सल्लाह दिए। ‘विवाह गर भनिसकेपछि गर्ने–नगर्ने हाम्रो मामिला भयो।’ पशुपतिले कुरा उम्काए, ‘त्यो कुरा आइसकेपछि दुवैमा विवाह गर्ने भन्ने चाहिँ भएछ तर मुख खोलेर कहिल्यै भनिएनछ।’

विवाहको मिति पनि भ्यालेन्टाइन डेलाई नै रोजेका थिए दुवैले, तर भाग्य भनौं वा दुर्भाग्य, फागुन २ गते परेको त्यो दिन नेपाली पञ्चांगअनुसार लगन नभएको दिन निस्कियो। त्यो दिन मात्र नभएर माघ कटेपछि एकै पटक असारमा मात्र लगन देखिएपछि उनीहरूले हतार–हतारमा माघ २९ गते विवाह गरे। यति हतार भयो कि रामकुमारीले आफूले सारी किन्न समेत नभ्याएर साथीले किनेर ल्याइदिएकी थिइन।

परिवार र राजनीति

परिवार र राजनीतिलाई फरक रूपमा ट्रिट गर्नुपर्ने रामकुमारीको बुझाइ छ। ‘मैले सीमाभन्दा बाहिर गएर परिवारमा अधिकार खोज्न थाले भने त स्वभाविक रूपमा द्वन्द्व सुरु हुन्छ नि।’ उनी भन्छिन् ‘परिवारभित्र त स्वीकार्यता हुनुपर्‍यो नि,त्यो कार्य भएपछि जुनसुकै कुरामा आबद्ध भए पनि केही फरक पर्दैन।’ झाँक्री आफ्नो फरक–फरक ठाउँमा फरक रोल भएकोमा सचेत छिन्। रामकुमारीको यो कुरामा पशुपति पनि सहमत जनाउँछन्, ‘हाम्रो परिवारमा मूल्य र मान्यता मात्र होइन, दैनिक गरिने क्रियाकलापको पनि एउटा नियम छ।’ पुरी भन्छन्, ‘त्यो नियम नै हाम्रो परिवारिक सम्बन्धको सबैभन्दा मजबुत पाटो हो ।’ आफूले लगाएका लुगा पट्याउनेदेखि भाडा राख्नेसम्मको सिस्टम बनाएका छन् उनीहरूले।

परिवारमा त सिस्टम बनाएर चलाइएको छ, तर व्यवसायिक जीवनका कुरालाई लिएर घरमा कति तनाव हुन्छ त रु यो पटक प्रश्न तेर्सियो पशुपतितर्फ। ‘आ–आफ्ना समस्या एक–अर्कामा सेयर हुन्छ र त्यसलाई ट्याकल गर्न एक–अर्कालाई सुझाव दिने तथा छलफल गर्ने काम हुन्छ।’ पशुपति भन्छन्, ‘ कुनै पनि कुरालाई नकारात्मक रुपमा लिइँदैन, दुवै जना मिली समाधान खोज्छौं।’ एउटा पब्लिक फिगर र निश्चित विचारसहित हिँडेकी नेतृ हुन्– रामकुमारी। बेलाबेलामा उनका अभिव्यक्तिहरूले समाजलाई बहसमा विभाजित पनि गरेको हुन्छ, त्यति बेला कस्तो लाग्छ त ? ‘जुन कुराको जहाँ महत्व छ त्यही कुराकानी हुने हो, सामान्य मान्छे विवादमा आउँदैन, कहिलेकाहीं बढी नकारात्मक टिप्पणी आए भने कहाँ ल्याकिङ छ, छलफल गर्छौं,’ उनी भन्छन्

सामाजिक सञ्जालमा लेख्ने कुरामा पनि पोस्ट गर्नुअघि सल्लाह पनि दिन्छन् पशुपतिले, तर कतिपय कुरामा रामकुमारीको जिद्दीका कारण उनको सुझावले काम गर्दैन र आपसमा झगडा पनि पर्छ। ‘किनभने म बाँधिएको छु म त्यस्तै सोच्छु,’ पशुपति भन्छन्, तर यस विषयमा रामकुमारीको भनाइ फरक छ। ‘म एउटा आइडोलोजीमा हिँडेकी छु, सबै मेरो आइडोलोजीका मान्छे छैनन, त्यही भएर मेरा कुराले विवाद ल्याउनु स्वभाविक हो।’

सफल परिवार

रामकुमारी र पशुपति दुवैमा एउटा समानता छ, त्यो भनेको एक–अर्काप्रति ठूलो आशा रसपना छैन। यदि अरूमा ठूलो सपना देख्यो र भोलि पाइएन भने फ्रस्टेसन हुन्छ भन्नेमा दुवै विश्वस्त छन्। दुवैको सफलताको सुत्र भनेको आ–आफ्नो ठाउँमा अधिकतम प्रयास गर्ने र त्यसका लागि मेहनत गर्ने हो । अधिकतम प्रतिफल लिने मात्र हो। त्यसैले त विवाह अघि र अहिले उनीहरूको सम्बन्ध उस्तै छ । अहिलेसम्म ठूलो विमतिका झगडा भएका छैन। ‘जब अविश्वास बढ्छ तब उतारचढाव आउने हो।’ रामकुमारी भन्छिन् ‘हामी एक–अर्काको कुरा एकदमै बुझ्छौं, हामीले समाज बुझेका छौं र समाजले हामीलाई पनि बुझेको छ भने उतारचढाव आउनुपर्ने कुनै कारण हुँदैन।’

थोरैमा सहज तरिकाले एड्जस्ट गर्न आफूहरूले सिकिसकेको पशुपति बताउँछन्। ‘वास्तवमा भन्ने हो भने हाम्रो अलि फरक परिवार छ, हल्का पाराको छ, सिरियस कुरा पनि हँुदैन।’ पुरी भन्छन्, ‘भविश्य के होला भनेर चिन्ता पनि छैन, चलेकै छ, बसुन्जेल अप्ठ्यारो छैन’ छोराको पनि त्यति ठूलो चिन्ता छैन, किनभने लाग्छ बाबु हुर्किसके। पढाइ सुरु भैसक्यो अनि दुवै जनालाई यो पनि थाहा छ मानिस तनावमा त्यो बेलामा हुन्छ जब धेरै धन कमाउन, घर, गाडी जोड्न मन लाग्छ । जुन चाहना उनीहरूमा छैन किनभने कमाइ ठिकै छ, सामान्य नेपाली बराबरकै उठबस छ।

रामकुमारीका नजरमा पशुपती

पंचुवालिटी

आफ्नो काम गर्ने अरूका बारेमा नेगेटिभ नसोच्ने

आफ्नो क्षमतामा भएको घमन्डीपन

काममा लगनशील

देखावटी लभिङ–केयरिङ छैन

बढी फरमालिटी चाहँदैनन् ।

सिम्प्लिसिटी

हर कुरा व्यवस्थित हुनुपर्छ भन्ने सोच ।

पशुपतिलाई रामकुमारीका मन पर्ने कुरा

सहयोगी भावना छ

फ्रायाङ्क छिन् ।

जे छ यही छ भन्ने कुरा बुझेकी छिन् ।

दुवैको मिल्ने बानी

सामान्य तरिकाले बस्न सक्छौ भन्ने भावना छ

लिमिटेड स्रोतबाट पनि जिवन चलाउन सिकेको ।

सबैलाई पोजेटिभ तरिकाले सहयोग गर्न पाए दुवै खुसी हुने ।

अनियन्त्रित रूपमा खर्च गर्नु हुँदैन भन्नेमा दुवै सचेत ।

साप्ताहिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।