ntc

२०६३ बैसाख ६ गतेलाई सम्झँदा

          |   1423 Views   |   Published Date : 18th April 2016 |

dhanbir dahal                                                                                                 धनवीर दाहाल

तत्कालिन सात राजनितिक दल र बिद्रोही माओबादीले अघोषित रुपमा कार्यगत एकता गरी शाही निरंकुशताका बिरुद्धमा आन्दोलन चलाएका थिए । नेपालमा रहेको राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्नका लागी देशव्यापी रुपमा आन्दोलनको आँधीबेहरी चलिरहेको थियो ।

१९ दिने जनआन्दोलनले रुकुमलाई पनि निकै तताएको थियो । २०६३ बैसाख ५ गते रुकुमको सदरमुकाम नजिकै रहेको सल्ले मा तत्कालिन माओबादीले बम बिस्फोट गरायो । ६ गते सदरमुकाम खलंगा बजार निकै सुनसान अवस्थामा थियो । तत्कालिन राज्यले रुकुमको आन्दोलन तुहिएको निष्कर्ष निकालेको थियो । अघिल्लो दिन बम बिस्फोट भएकोले सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । बैसाख ६ गते ठिक ११ बजेर ५६ मिनेट गएको थियो खलंगाको मध्य बजारमा सबैका घरघरबाट शाही राजतन्त्रका बिरुद्धमा आन्दोलन निस्कीयो । सात राजनितिक दलको अगुवाईमा शान्ति पुर्ण रुपमा सिठीजुलुश निस्कीयो । सर्वसाधारण हरेक घर -घरबाट निस्कीय रुकुम पनि आन्दोलनमय भयो । खलंगा बजार परिक्रममा गर्दै बालमन्दिर अगाडी जुलुश अघि बढीरहेको बेला प्रहरीसँग झडप भयो ।

प्रहरीको कमाण्ड गरिरहेका प्रहरी निरिक्षक बिष्णु पराजुलीले आफ्ना सिपाहीहरुलाई अन्दाधुन्द लाठी प्रहार गर्न लगाए । आन्दोलनलाई तितरबितर पार्ने मनसायका साथ बाक्लो मात्रामा प्रहरी परिचालन गरियो तर आन्दोलनको आँधीबेहरी झनै उर्लियो । आन्दोलनकारीले आफ्नो सिठी जुलुश र जनप्रर्दशन गराएरै छाडे । सोही बेला प्रहरीको निसानामा हामी मानवअधिकारकर्मी र पत्रकार पर्यो । शान्तिपुर्ण जुलुशको अनुगमन गरिरहेका अधिकारकर्मी र पत्रकामाथी प्रहरीले अन्दाधुन्ध लाठी र बुट प्रहार गर्यो । सोही समयमा सबै भन्दा बढी मेरो शरिरमा लाठी बर्सायो । बालमन्दिर अगाडीबाट निर्घातरुपमा लाठीप्रहार गर्दै त्रिबेणीचोक बागबजार सम्म पुर्यायो । प्रहरीको निरमम कुटाई देखेर कतिपय राजनितिक दलका नेताहरु र अधिकारकर्मीले मलाई बचाउन प्रयास गर्नुभयो तर प्रहरी निरिक्षक पराजुली र हवल्दार हर्कबहादुर घर्तीको निरमम कुटाई अन्त्यमा मलाई मात्र पर्यो ।

आन्दोलनलाई उक्साउने तँ होइनस भन्दै उनीहरुले गोरु चुटाई गरिरहे । सोही समयमा मानवअधिकारकर्मी टोपबहादुर खड्का, जिवन खड्का, प्रेम ओली लगाएतलाई पनि हातपात गरेको थियो । सात दलको शान्ति पुर्ण जुलुशको अनुगमनलाई सहन नसकि तथा उसले तुहाउन खोजेको आन्दोलनलाई तुहाउन नसकेपछि अन्तमा आएर ममाथी सम्पुर्ण शक्ति केन्द्रीत गरेर कुटियो । मलाई तत्कालन अस्पतालमा पुर्याइयो । मेरो खुट्टा, टाउको र ढाडमा भएको चोटले रुकुममा उपचार असम्भव देखियो ।

बैसाख ६ गतेको दिनमा सात दलका नेता तथा अन्य पेशागत संघ संस्था एवं अधिकारबादीहरुले मलाई कुटपिट गर्नेलाई कार्वाहीको माग गरे । तर राज्यका ति प्रहरी र प्रहरी कमाण्डर अर्को दिनको आन्दोलन नियन्त्रण गर्न आएनन् । उनीहरुको सट्टा अर्कै जनालाई पठाइयो । तत्कालिन सात राजनितिक दलको सिफारिसमा जिल्ला अस्पतालको रिफर लेटरका साथ म काठमान्डौको मोडल अस्पतालमा भर्ना भयँ । पत्रकार महासंघका तत्कालिन महासचिव (हाल अध्यक्ष) महेन्द्र बिष्ट लगाएतको टोली अस्पतालमा आएर मेरो अवस्था बारे जानकारी लिनुभयो । नेकपा एमालेबाट निबार्चति तत्कालिन सांसद तिर्था गौतमको हरेक दिन मेरो निगरानी रहन्थ्यो । अस्पतालको शैयामा ९ दिन रहँदा सम्म देशमा आमुल परिबर्तन भइसकेको थियो । १९ दिने आन्दोलन सफल भएर देशमा शाही राजतन्त्रले घुँडा टेकिसकेको थियो । मजस्ता कयौं घाइतेहरुले अस्पतालको शैयामा नै खुसीयाली मनाएका थियौं । सो आन्दोलनमा धेरै शहिद भए भने हजारौं घाइते तथा अंगभंग भएका छन् । लोकतन्त्र स्थापनाका लागी भएको बलिदानीलाई अहिले राज्यले उचित मुल्यांकन गर्न सकिरहेको छ या छैन त्यो कुरा स्वयं शहिद परिवार र घाइते व्यक्तिहरुले बताइरहेका छन् ।

राज्यले मुल्यांकन गर्ला नगर्ला त्यो आफ्नो ठाँउमा छ तर रुकुमको सन्दर्भमा आन्दोलनमा कुटाई पिटाई खाँदा स्वयं आफुले पनि भोगेका र मलाई कुटीरहँदा छुटाउन प्रयास गर्ने केही मान्छेहरुले जनआन्दोलनको स्वघोषित घाइते भन्दै सामाजिक संजालमा स्टाटसहरु पोष्ट गर्ने र बिभिन्न बजारहरुमा हल्ला गर्दै हिडिरहेका छन् । आन्दोलनमा सँगै हिडिरहेका व्यक्तिले जसले मलाई उपचारको लागी पनि सहयोग गरेका थिए उनै व्यक्तिले अहिले आएर स्वघोषित घाइते भन्दै हिड्नु कति उपयुक्त होला ? उनीहरुले अहिले जनआन्दोलनको घाइते भन्दै बिभिन्न अवसरहरु प्राप्त गरिसके र अझै पनि यसले सोही निहुँमा धेरै अवसर लिन्छ भन्दै मलाई बिभिन्न अपमान गरिरहेका छन् ।

त्यस्ता व्यक्तिहरुलाई तत्कालिन जनआन्दोलनका सहयात्री दलहरु, बिभिन्न अधिकारकर्मीहरु र स्वयं पत्रकारहरुले पनि तह लगाउन जरुरी छ । मैले राज्यबाट उपचार निशुल्क पाएको हुँ । राहत स्वरुप १० हजार रुपियाँ पाएको हुँ । त्यो बाहेक राज्यबाट मैले कुनै सुबिधा पाएको छ्रैन । राज्यबाट सुबिधा सबै लिइसक्यो भन्ने केही साथीहरुले मेरो सबै रिपोर्टहरु हेर्न सक्नुहुन्छ । त्यसैले यदी दया छ भने आन्दोलनको घाउलाई मेटाउने कोसिस गर्नुस झन बल्झाउने काम नगर्न म सादर अनुरोध गर्दछु । म अहिले पनि अशक्त अवस्थामा छु । म हरेक महिना चेकजाँच गरिरहन्छु । हरेक समयमा औषधी सेवन गरिरहेको छु ।

मेरो घाउ अझै बल्झीरहेको छ । तर पनि आन्दोलनको उपलब्धी भएको छ । कुटाई खाएको उपलब्धी भएको छ । अहिले देशले नयाँ संबिधान पाएको छ । सबै नेपालीले भनेअनुसारको नभएपनि, देशमा पुर्ण रुपमा शान्ति स्थापना नभएपनि केही त पक्कै भएको छ । ९० प्रतिशत परिवर्तन भएकै छ । यहीमा सन्तुष्ट हुनु पर्ने अवस्था छ । जति आन्दोलनको घाउ बल्झीए पनि देशमा भएको परिवर्तनलाई सम्झेर चित्त बुझाउनुपर्ने अवस्था छ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।