ntc

‘डिभोर्सी केटी’

          |   1090 Views   |   Published Date : 6th March 2016 |

Kheema-basnet

                                                                            खेमा बस्नेत

उसका लागि विवाह एउटा सानो खेल थियो । यो समाजका हरेक पुरुषका लागि विवाह एउटा सानो खेल हो, उसले खेल खेलिसकेपछि ‘गल्ती भयो’ भनेर फेरि सानदार जीवन जिउन सक्छ , तर महिलाका लागि विवाह खेल होइन, जीवनभरि उम्किन नपाउने जेल हो ।

कुनै केटासँग बोलियो र हाँसियो भने पनि बिग्रिएकी केटीको संज्ञा दिन्छ समाजले । प्रेमको चक्करमा परेको थाहा भयो भने त बाँकी के रहन्छ र रु त्यसैले म पुरुषदेखि सक्दो टाढा रहेँ । सँगै पढ्ने केटा साथीसँग पनि एउटा दूरी बनाएर बसेँ । मास्टर्ससम्म पढ्दा पनि म कुनै केटाको नजिक म गइनँ । यसको मतलब समाजको नजरमा म बिग्रिइनँ ।

मास्टर्स सकेपछि भने घरपरिवार र समाज आफैंले केटासँग सम्बन्ध गाँस्न जोड गर्न थाल्यो । प्रस्ताव पनि धेरैबाट आए । किनभने म सप्रिएकी केटी थिएँ । विवाह गर्ने उमेर पनि भइसकेको थियो । त्यसैले नाइँनास्ति गरिनँ, बरु घरपरिवार सवैको चित्त बुझ्ने केटा खोज्नमै जोड दिएँ । नाइँनास्ति गर्नु नपर्ने अर्को कारण पनि थियो, म पछिका दुई बहिनी हुर्किसकेका थिए । विवाहका लागि मैले गरिरहेको ढिला सुस्ति उनीहरुका लागि पनि बाधक भइरहेको थियो ।

यही सन्दर्भमा एकदिन एउटा परिवार मलाई माग्न आयो । घरघराना सवै परिवारका अन्य सदस्यलाई थाहै थियो । केटाका बारेमा सोधें, हेरें र बुझें, अस्वीकार गरिहाल्नुपर्ने अवस्था देखिनँ । यसैपनि जीवनमा अलिअलि सम्झौता गर्न त जोसँग पनि परिहाल्छ भन्ने लाग्यो । केटाले पनि मेरा बारेमा बुझेरै माग्न आएको थियो, त्यसले मेरो स्वीकृतिपछि उसले कुनै प्रश्न गरेन ।

एउटा मान्छेका जीवनमा तीनटा ठूला घटना हुन्छन् रे, जन्म, विवाह र मृत्यु । तीमध्ये सुखद् घटना दुईटा हुन्छन्, जन्म र विवाह । जन्म आफूलाई थाहा हुने कुरा भएन, मृत्यु झन् अकल्पनीय भइहाल्यो । मान्छेले जीवनमा देख्न पाउने र मनाउन पाउने उत्सव एउटा विवाह न हो । त्यसैले यसलाई सक्दो अवस्मरणीय बनाउनुपर्छ भन्ने लाग्ने नै भयो । बेहुली बन्नुअघि मनमा अनेक सपना थिए । के के न गरिएला जस्तो पनि लागेको थियो, तर सोचेजस्तो नहुँदो रहेछ । के पुगेन, के पुगेन जस्तो हुँदो रहेछ, बेहुली बन्दा । विवाह भयो, जस्तो भए नि राम्रो भयो । नयाँ साथी पाएँ, जीवन जिउने नयाँ बाटो समाते । अलि अलि उत्साह र अलि अलि डर लिएर बेहुलाको घर लागियो ।

हिन्दूहरूको पवित्रस्थल हरिद्वारमा हाम्रो विवाह भएको थियो । त्यहाँबाट २४ घण्टाको दूरीमा थियो केटा घर । जुन घर भर्खरै मेरो पनि भयो । त्यो २४ घण्टाको यात्रामा धेरै कल्पना गरें । सबैभन्दा बढी त मेरो छेउमा बसेकै मान्छे जुन भर्खरै विधिवत रुपमा मेरो सबभन्दा नजिकको मान्छे बनेको थियो, उसको बारेमा सोचें । उसले दिने माया र उसले गर्ने जीवनसाथीको व्यवहार कल्पना गरेर मनभित्र रमाइलो अनुभूतिले तरंग सिर्जना गरिरहेको थियो, हामी चढेको कार रोकियो । उसको अर्थात् मेरो घर आइपुगेछ ।

‘त्यो सामान लिएर आइजा,’ ऊ अर्थात् दुलाहाले झर्केर भन्यो । म त बेहुली न थिए, त्यसरी मप्रति किन झर्केको होला रु अरु कसैलाई भन्यो होला भनेर मैले वास्ता गरिनँ । मैले आफ्नो सुझबुझले केही सामान लिएर घरको गेटतिर पाइला बढाएँ । उसका बहिनीहरूले घर प्रवेश गराए । मलाई उसको कोठामा लिएर राखे । मसँगै ऊ पनि बसिरहेको थियो । उसका आफन्त मलाई हेर्न तँछामछाड गर्दै थिए । कतिले भन्थे, ‘कति राम्री ।’ कतिले भन्थे, ‘केटाले दुलही लक्षिणकी पायो ।’ ‘पढेलेखेकी नि रैछ, केटो भाग्यमानी भयो’ भनेको पनि सुनें ।

यत्तिकैमा ऊ बाहिरियो । एकछिन यतैकतै गयो होला भनेर कसैले सोधखोज गरेन । लामै समय ऊ कोठामा प्रवेश नगरेपछि एकजनाको मुखबाट फ्याट्ट निस्कियो, ‘उसले मन पराएको केटीसँगै विवाह गरिदिनुपर्छ नि । नमानेपपिछ यस्तै हुन्छ ।’ मैले आधा बुझें, आधा बुझिनँ र धेरै त वास्ता गरिनँ । किनभने विवाहअघि नै उसले मलाई लभसव भएको वा नभएको सोधेको थियो । मेरो प्रेम सोध्ने उसका त्यस्तो चक्करसक्कर नहोला भन्ने लागेरै केही सोधिनँ । माग्न ऊ आएको थियो, मलाई हेरेर र मेरा बारेमा बुझेर ऊ माग्न आएकाले ऊ मसँग जीवन बिताउन राजी भएरै आएको होला भन्ने लाग्नु पनि त स्वभाविक थियो ।

जसले जे भनेपनि नकारात्मक सोच्नुहुन्न भनेर विवाहको पहिलो रात उसको प्रतिक्षामा बसें । त्यो पहिलो रातका हरेक पल जीवनभरका लागि सजाएर राख्ने कल्पना थियो । उत्साह थियो, उमंग थियो र थोरै उत्साह मिसिएको त्रास पनि थियो । मेरो प्रतिक्षा व्यर्थ भयो, ऊ आएन ।

विवाहको तेस्रो दिन, चलन अनुसार दुल्हन फर्काउनुपर्छ । ऊ मसँगै मेरो माइतीघर जानुपर्छ । तर, विहानैदेखि उसको अनुहार समेत देखिएन । सासुससुराको कर र आग्रहमा ऊ मेरो माइत जाने भनेर घर आयो । मलाई माइत पुर्‍यायो, तर ऊ आफ्नो ससुराली घरमा पानी समेत नपिएर फक्र्यो ।

बाआमालाई घरमा जरुरी काम भएकाले तुरुन्तै फर्केको भनेर ढाँटें । मेरो मनमा चिन्ताको आगो बल्न सुरु गरिसकेको थियो, तर त्यो बाआमाको मनमा समेत सल्काउन चाहिनँ । किन उसले मलाई विहे गर्‍यो रु किन ऊ मदेखि यसरी टाढा भाग्छ रु म आफैँले सही उत्तर पाइरहेकी थिइनँ, अरुलाई के भन्नु रु

यसरी २ वर्ष बिते । मेरो मोबाइलमा बज्ने हरेक घन्टीमा उसको नम्बरको आशा गर्थें । उसले गरेको पो हो कि भनेर हतारमा उठाउथें, तर कहिल्यै उसको मोबाइल नम्बरले मेरो फोनको बाटो देखेन, मलाई माइती पुर्‍याएर गएपछि आफ्नो ससुरालीको बाटो नदेखे जस्तै । विवाह भएको २ वर्ष वितेपछि उसको नम्बरबाट फोन आयो । उत्साहित भएँ, उठाएँ, तर आवाज अपरिचित महिलाको आयो । कसलाई खोज्नुभएको भनें । उताबाट उत्तर आयो, ‘तेरो बुढा र म एकअर्कालाई धेरै माया गर्छौँ तँसँग उसले बाध्यताले विवाह गरेको हो । उसलाई छाडिदे ।’

यो समाजमा कसरी पुरुष बाध्यतामा पर्छ रु यसैपनि ऊ त्यस्तो बाध्यतामा थियो भन्ने त उसको घरमा पुगेपछि पनि मैले महशुस गरिनँ । विवाह गरेकै दिन घरबाट हराउन छुट भएको ऊ कसरी बाध्यतामा पर्यो मसँग विवाह गर्न रु सत्य कुरा के हो भने उसका लागि विवाह एउटा सानो खेल थियो । यो समाजका हरेक पुरुषका लागि विवाह एउटा सानो खेल हो, उसले खेल खेलिसकेपछि ‘गल्ती भयो’ भनेर फेरि सानदार जीवन जिउन सक्छ । तर, महिलाका लागि विवाह खेल होइन, जीवनभरि उम्किन नपाउने जेल हो । किनभने म समाजका नजरमा अहिले एउटा कैद भोगेर आएको मान्छे जत्तिकै छु ।

उसले जति दूर राख्न चाहेपनि मेरो मनदेखि उसलाई दूर राखिनँ । श्रीमान् न हो एकदिन विधवत रुपमा आफ्नी श्रीमती बनाएकी मलाई स्वीकार्छ भन्ने आशा थियो । यही सोचेर उसका आमाबुवाको दुई वर्ष सेवा गरें । घरधन्दा सम्हालिदिएँ । तर, यी दुई वर्ष एक शब्द मीठो बोलेको मलाई याद छैन । अहिले बाटो बिराएपनि ऊ मेरो दृढतामा, धैर्यतामा र मायामा पग्लिएर एकदिन फर्केर आउने आशा जिवित राखेकी थिएँ । त्यसैले त घर अघि मोटरसाइकल रोकिएको आवाज आयो कि ऊ आयो भनेर दौडिदै बाहिर निस्किन्थें । तर, ऊ कहिल्यै आएन । आएपनि कहिल्यै बोलेन मसँग ।

मैले हार मानिसककी थिएँ । मेरो धैर्यताको बाँध धेरै दिन टिक्न सक्ने अवस्थामा थिएन । उसले मलाई फोन गर्ने थालेको थियो, तर फोनमा मुखमा आएजति असभ्य शब्द बोलेर गाली गथ्र्यो । कुनै समय उसको फोनको प्रतिक्षामा तड्पिने म अब उसको फोन आउँदा तर्सिन थालेकी थिएँ । उसले आफ्नो जीवन र घरबाट टाढा जाऊ भनेर गाली गथ्र्यो । म आफ्नो मर्जीले आएकी थिइनँ, उसले मागेको थियो । डोली लिएर आएको थियो उ मेरो घर र आएकी थिएँ म । कसरी जाउँ म रु कहाँ जाउँ म रु

तर, मसँग अर्को विकल्प पनि थिएन । म उसको जीवनबाट भागें अर्थात् डिभोर्स गरें । गल्ती उसकै थियो, म भाग्दा स्वतन्त्र उही भयो । म त हिजो पनि कैदी थिएँ र आज पनि छु । किनभने समाजले भन्ने गरेको ‘डिभोर्सी’ केटीको हतकडी मेरा हातबाट कहिल्यै निस्किने छैन । ऊ पनि यही समाजमा बाँचिरहेको छ, अर्की केटीसँग विवाह गरेर फुक्काफाल जिन्दगी । म पनि यही समाजमा बाँचिरहेकी छु, विना गल्तीकी अपराधी भएर ।

सुरुकै प्रसंग जोडौं, म बिग्रिइनँ कहिल्यै । सरासर पढें, घरपरिवारले भनेकै केटासँग विवाह गरें । तर, आज समाजले विग्रिएकी मलाई नै ठान्छ । ऊ पटक पटक विग्रियो, आफू मात्रै विग्रिएन अरुलाई पनि विगार्यो । तर, उसलाई समाजले सप्रेको मान्छे ठान्छ । यसैले त उही इज्जत र उही सानसहित जिइरहेको छ ऊ । म भने मेरो नामले भन्दा डिर्भोसी केटीको उपनामले परिचित छु ।

यति आफ्नो कथा सुनाइरहँदा ती दिदीले धेरैपल्ट आँशुका धारा बगाइन् । धेरैपल्ट आक्रोशका आगो बालिन् । र, अन्त्यमा सोधिन्, बहिनी गल्ती उसको कि मेरो रु बिग्रिएको ऊ कि म ?

हाम्रोजस्तो समाजमा यसको उत्तर सजिलो छैन । गल्ती पुरुषले गरेपनि सजायँ महिलाले भोग्नुपर्ने समाजमा ती निर्दोष दिदीको घाउमा मेरो उत्तर मात्रै मल्हम बन्न सक्दैन पनि ।

महिलाखबरबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।