कोल्ड कफी पहिलो र अन्तिम त्यही पिए
बर्षा शाह
स्टुडियोभित्र थिएँ । सायद फोन मेरै बजिरहेको थियो । त्यो बेला घोराहीस्थित झरना एफएममा कार्यक्रम प्रस्तोता थिएँ । फोन धेरै बजे छ क्यारे, प्राविधिक खगेन्द्रले फोन बजिरहेको संकेत गरे । स्टुडियोभित्र बोलिरहेकाले फोन उठाइदेऊ भन्ने संकेत उनलाई दिएँ । गीत बज्ने पालो आएपछि स्टुडियोबाट बाहिर आएँ । भाइले तपाईंको साथीको फोन आएको र तुरुन्त फोन गर्नु भन्ने सुनाए ।
फोन सेटमा आँखा पु¥याएँ । मित्र दीलिपको नम्बर देखेँ । केही भए छ कि ? तुरुन्त फोन गर्न भन्यौ । मनमा सोच्दै उसलाई फोन गरेँ । फोनको एक घण्टी बज्न नपाउँदै उठाएर अतालिँदै भन्यो, ‘ओइ, बरुण त हामीलाई छोडेर गयो ।’ जाने त भयो आफनो घर । दीलिपले फेरि भन्यो, ‘नाई यार, ऊ कहिले नआउने गरी हामी अनि यो संसार छोडेर गयो ।’
जब उसले त्यस्तो भन्यो । न रुन सकेँ न हाँस्न । ‘के नचाहिने कुरा गरेको भनेँ । जवाफमा उसले मेरो विश्वास नलागे बरुणको भिनाजुलाई फोन गर भन्दै फोन राख्यो । स्तब्ध भएँ । तर के गरुँ, फेरि स्टुडियोभित्र जाने बेला भएछ । त्यसपछि स्टुडियोभित्र के बोलेँ, भनेँ । मलाई नै थाहा भएन । जब म कार्यक्रम सकेर स्टुडियो बाहिर निस्किएँ । पहिलो काम बरुणको भिनाजुलाई फोन गर्ने भयो ।
उहाँले पनि त्यो कुरा सत्य हो । बरुणले हामीलाई छोडेर गयो नानु भन्नुभयो । मसँग उहाँलाई भन्ने केही शब्द भएन । फोन काटेँ । बरुण मेरो एउटा यस्तो साथी, जो छोटो समयमा राम्रो साथी बन्न पुगेको थियो । ऊ खासमा राजस्थानको थियो । तर नेपालगन्ज बस्थ्यो । त्यहाँ उसले सानो व्यापार गथ्र्यो । तर हाम्रो पहिलो भेट घोराहीमै भएको हो । कामको सिलसिलामा भएको हाम्रो भेटपछि असल मित्रको रुपमा हामी भयौँ । साँच्चै भन्ने हो भने हाम्रो टिम नै भइसकेको थियो । तर हामीहरु आफ्नै काममा व्यस्त हुने हुँदा भेटघाट हुँदैन थियो ।
हाम्रो भेट ऊ घोराही आउँदा हुन्थ्यो । तर फोनमा कुरा हुँदा उसले आफनो आमा र बहिनीको कुरा सधैँजसो गथ्र्यो । उसको कुरा सुन्दा लाग्थ्यो । महिलालाई ऊ निकै सम्मान गर्छ । उसले नेपालगन्जकै एउटा मुस्लिम केटीलाई निकै माया गथ्र्यो । अझ कुरा के थियो भने त्यो केटीको पहिला बिहे भएको थियो । हामी उसलाई कहिलेकाहिँ भन्थ्यौँ । उसको त पहिला नै बिहे भएको छ नि ? हाम्रो प्रश्नको जवाफ सधैँ उसले एउटै दिनेगथ्र्यो । ‘इसिका नाम तो प्यार हे दोस्तोँ,’ अनि हामीसँग उसको जवाफमा केही प्रतिक्रिया हुँदैनथ्यो । चुप लाग्थ्यौँ ।
एकदिनको कुरा हो । तालिमको सिलसिलामा नेपालगन्ज जाने कुरा फेसबुकमा लेखेको थिएँ । घोराहीबाट नेपालगन्ज हिँडिसकेको थिएँ । कोहलपुर पुगेको थिएँ क्यार । फोन बज्यो । फोन बरुणले नै गरेको थियो । उसले नेपालगन्ज आउँदै गरेको फेसबुकबाट थाहा पाएको र जसरी नि भेट्नु पर्छ भनेपछि तालिम साकिएपछि भेट्ने विश्वास दिलाएँ । दुई दिनको तालिमपछि उसलाई तालिम सकिएको तर धेरै समय नभएकाले थोरैसमय भेटौँ र अनि घोराही फर्कने कुरा राखेँ । मलाई लिन अर्को साथी दीलिप आउने भयो । दीलिप आएपछि हामी नेपालगन्जस्थित सिद्धार्थ कटेजमा सबै भेट भयाँ । बरुणसँगको अन्तिम भेट त्यही हुन पुग्यो । खाजा खाने क्रममा जीवनमा कोल्ड कफी पनि पहिलो र अन्तिम त्यही पिए ।
हाम्रो त्यो अन्तिम भेटका बेला उसले आफूले माया गरेको केटीको परिवारले आफूसँगको सम्बन्ध थाहा पाएर फेरि अन्तै बिहे गरिदिएको कुरा पनि सुनायो ।उसलाई लाख सम्झाउँदा पनि केबल त्यो केटी बिना कसरी बाँच्ने भन्दा अरु कुरा नगरेको देख्दा झनै दुःखी भएँ ।
त्यहाँबाट आफू दाङ जाने भनेर उठेँ । चाहन्थेँ कि मेरो साथी सधैँ हासीखुशी बाँचोस् । तर ऊसँग रिसाएर हिँडेको म । हुन त उसको निधन दुर्घटनामा भयो । सायद यसले बोलेको कुरा सत्य पो हुन पुग्यो । उसँग रिसाएको एक महिनापछि मलाई त्यस्तो खबर आउला भन्ने सोचेको थिइनँ ।उसले जति फोन गरे पनि सधैँ त्यही केटीको कुरा गर्दा हैरान भएको थिएँ । सम्झाउँदा–सम्झाउँदा । केहीदिन उसको फोन रिसिभ गरिनँ । जुन कुराले अहिले पनि कहिलेकाहिँ सताउँछ ।
फेसबुकबाट हटाउनुको उद्देश्य पनि उसलाई गुमाउन चाहेर होइन । जुन कुराले मलाइ सताइरहन्छ । अहिले पनि म बेलाबेला उसको फेसबुक हेर्ने गर्छु । अब रिकोइष्ट पठाए पनि कस्ले एक्सेप्ट गर्छ र भन्ठान्छु । अनि हाम्रो त्यो दिन सम्झन्छु । केही भाबुक हुन्छु । कतैबाट मलाई हेर्दैछस् भने, मलाई माफ गर बरुण ।
Leave a comment